काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा दलित खुलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ।
५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन्।
दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन्। निर्वाचितमध्ये स्नेही कोइराला प्यानलका हुन्।
यस्तै दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ। दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन्।
लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए भने चितवनकी शान्ति र पाल्पाकी रुपाले पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाएका हुन्।