प्राइभेट कम्पनीमा रूपान्तरित एमाले हाम्रो पार्टीको प्रमुख प्रतिद्वन्द्वी हो : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कब्जामा रहेर प्राइभेट कम्पनीमा रूपान्तरित नेकपा एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित नेकपा समाजवादीको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो उपस्थितिले ओलीको सातो जाने गरेको बताएका हुन् ।

अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओलीले समाजवादीका सांसदको सहभागितामा संसद् चलाउन नदिएको प्रति व्यङ्ग्य गर्दै आफ्नो उपस्थितिले ओलीको सातो जाने गरेको बताए । ‘म संसद् चलेको बेला बाहिर आएँ, अहिले म बाहिर भएको मौकामा केपी ओली संसद् छिर्न बेर छैन, कमसेकम मेरो उपस्थितिले केपीको सातो गैरा छ नि,’ उनले भने, ‘उसले हामीलाई शत्रु घोषणा गरेको छ, हाम्रो अनुहार पनि हेर्दिन भन्या छ,कस्तो सन्जोग काँग्रेस महाधिवेशनमा अनुहार हेर्दै जानु परेछ । काँग्रेसको कार्यक्रममा आउन पनि हुने, एउटै स्टेजमा बस्न पनि हुने तर, संसदमा छुवाछुतको व्यवहार गर्छन्,संसदमा आउँछन् नारा लगाउँछन् ।’ उनले केपी ओलीलाई आफूहरूलाई कारबाही गर्ने अधिकार नभएको समेत बताए ।

अध्यक्ष नेपालले ओलीको भ्रम चिरेर वास्तविकता जनता सामु बुझाउन गाउँ गाउँसम्म अभियान चलाउनु पर्ने बताए । उनले भने, ‘नेपाल राष्ट्रको गरिमा माथि उठ्नु पर्छ । कम्युनिस्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिस्ट आन्दोलन लोकप्रिय बनाउन सक्नुपर्छ । नेपाली जनताको विश्वास जित्नुपर्छ । वामपन्थी राजनीतिको मर्मलाई आत्मसाथ गरेर हामीले आन्दोलन सुरु गरेका छौ । यसलाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक छ।’