सुर्खेतमा एकैपरिवारका ३ जनालाई जटिल रोग, जीवन बचाउन हारगुहार

प्यारालाइसिस, मृर्गौला फेलदेखि रक्त क्यान्सर रोग

सुर्खेत – वीरेन्द्रनगरका हस्तबहादुर दर्लामी प्यारालाइसिस रोगले थला परेका छन् । वीरेन्द्रनगर नगरपालिका ५ बिहानी टोल, सुर्खेत निवासी दर्लामी प्यारालाइसिस रोगले थला परेको तीन वर्ष बित्यो । तर उनलाई अँझै निको भएको छैन । उमेरले ६८ बर्ष पुगेका उनको यतिबेला प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । तर उपचार गर्ने खर्च अभावको चिन्ताले हस्तबहादुरका घाउ झन् बल्झिन थालेका छन् ।

 

हस्तबहादुर दर्लामी

भनिन्छ,‘हुने हार दैव नटार’ भनेझै प्यारालाइसिसको पीडाले थलिएका हस्तबहादुरलाई पीडामाथि थप पीडा पर्दै गएको छ । आफ्नै रोगको पीडाले उपचार गर्न धौ धौ परेको बेला हस्तबहादुरका छोराको दुबै मृर्गौला फेल भएका छन् । भने नातीलाई रत्त क्यान्सर समेत भएको छ । एकै परिवारका तीन जनालाई जटिल रोग लागेपछि यतिबेला दर्लामी परिवार निकै चिन्तामा छ ।

घरका तीन जनालाई प्यारालाइसिस, मृर्गौला फेलदेखि रक्त क्यान्सरसम्मको रोग लागेपछि दर्लामी परिवारलाई आर्थिक संकट हुनुका साथै ऋणको भार धान्न नसक्ने अवस्था आएको छ ।

हस्तबहादुर दर्लामीका ४२ बर्षिय छोरा पदमबहादुर थापा दर्लामीका दुबै मृर्गौला फेल भएका छन् । उनलाई बचाउन उनकी आमा जसुमा दर्लामीले मृर्गौला प्रत्यारोपण गरेपछि हाल उनीसमेत अस्वस्थ बनेकी छन् । धर्मभत्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भत्तपुरमा डाइलासेस सेवा लिदै आएका पदमबहादुरका मृर्गौला फेल भएको ९ बर्ष बित्यो । हाल उपचार खर्च अभावले उनको डाइलासेस गर्न समेत हम्यहम्य परेको छ ।

पदमबहादुर थापा दर्लामी

तर दुभाग्यवस पीडाकाबिच घरमा फेरी उनका छोरा पुस्कर दर्लामी मगरलाई रत्त कयान्सर भएपछि पदमबहादुरलाई आफुभन्दा आफ्नो छोरो बचाउने चिन्ता छ । उमेरले १८ वर्षका पुस्करलाई रत्त क्यान्सर भएपछि विगत एक वर्षयता नेपाल क्यान्सर अस्पताल काठमाडौंमा उपचार हुदै छ ।

‘आफ्नै रोगको डाइलासेस गर्ने पैंसा छैन । बुवालाई प्यारालाइसिसको उपचार कसरी गर्नु’ मृगौंला पीडित पदमबहादुरले भने, ‘त्यसैमा छोराको क्यान्सर उपचारका लागि तत्काल ४० लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । म कसरी यी आर्थिक भार धानेर उपचार गराउँ ।’

पुस्कर दर्लामी मगर

१२ जनाको दर्लामी परिवारमा तीन जनामाथी बज्रपात पर्दा घरका सबै सदस्य मानसिक चिन्तामा छन् । ‘घरमा कमाउने कोही छैन । हालसम्म तीन जनाको उपचार गर्दा एक करोड बढी खर्च भइसक्यो’ उनका आफन्त बिरबहादुर थापामगरले भने, ‘जग्गा बेच्दै उपचार गर्दा अब बस्ने घर मात्रै बाँकी छ । तीन÷तीन जना गम्भिर रोगका बिरामीलाई कसरी उपचार गर्ने ?’

तीनै जना बिरामीको ज्यान जोगाउनका लागि आफन्तले आर्थिक सहयोगको हारगुहार गरेका छन् । त्यसका लागि स्वदेश तथा विदेशमा रहनुहुने सबै मनकारी नेपालीलाई आग्रह गरिएको छ । जसका लागि बिरामी पदमबहादुर थापा दर्लामीको सम्पर्क नम्बर ९८४९५२८६८७, कुमारी बैंक लिमिटेड सुर्खेत शाखामा रहेको खाता नम्बर ०२६००४८१८०७००००१ र आफन्त विरबहादुर थापामगरको सम्पर्क नम्बर ९८४८०२४७५३ मा सम्पर्क गरी मनकारी व्यक्तिहरुले आर्थिक सहयोग गर्न सक्नेछन् ।