काठमाडौं – साफ यु-१९ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले तेस्रो खेलमा आज भुटानविरुद्ध प्रतिष्पर्धा गर्दैछ। नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा शुक्रबार साँझ पौने ७ बजे हुनेछ।
भुटानविरुद्ध मैदानमा उत्रिँदा नेपाल जितको खोजीमा हुनेछ। फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जित्नै पर्ने दबाब छ। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो। भुटानले भने पहिलो खेलमा श्रीलंकलाई ५–० ले पराजित गरे पनि दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो।
पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइँदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताअन्तर्गत लगातार दुई खेल जितेको भारत ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपालले आफ्नो अन्तिम खेल आइतबार भारतविरुद्ध खेल्नेछ।