काठमाडौं – सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने भएको छ ।
मंगलबार संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका हुन् ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए । उनले भने, ‘हामीले पहिलेदेखि जसरी नाराबाजी गर्दै आएका थियौ, त्यसलाई निरन्तरता दिने कुरा भयो ।’
बैठकमा अध्यक्ष ओलीले सभामुखको कार्यशैलीको चर्को विरोध गरेका थिए । ‘सभामुखले पार्टीलाई विभेद गर्नुभएको छ । यो अन्याय एमालेले सहनुहुँदैन, सोही कारण हामीले प्रतिवाद गरेका हौ । कुनैपनि हालतमा सभामुख सच्चिनुपर्छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै भट्टराईले भने ।