विराटनगर उच्च अदालतले भन्यो- कोरोनाबाट मृत्यु हुनेका आफन्तले चाहे दाहसंस्कारमा भाग लिन दिनू

काठमाडौं- विराटनगर उच्च अदालतले कोरोना संक्रमणबाट मृत्यु भएका परिवार तथा आफन्तलाई दाहसंस्कारमा भाग लिन चाहे त्यस्तो व्यवस्था गर्न आदेश दिएको छ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेम राज कार्कीको संयुक्त इजलासले सोमबार दाहसंस्कारमा भाग लिन पाउने परिवार र आफन्तको अधिकार भएको भन्ने आदेश गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम राज सुवेदीले जानकारी दिए।

‘उपचारको क्रममा कोरोना संक्रमितको मृत्यु भएमा दाहसंस्कारमा आफन्त नातेदारहरू उपस्थित हुने अधिकार रहने हुँदा मृतकका आफन्तले चाहेमा सुरक्षा मापदण्डको अधिनमा रहि उपस्थित हुने व्यवस्था गर्नु,’ आदेशमा भनिएको छ।

स्थानीय निलिमा दहालले आफ्नो बाबुको मृत्यु अस्पतालको लापरबाही बाट भएको र आफूहरूलाई मृत्यु संस्कारमा भाग लिन पनि नदिएको भन्दै रिट दिएकी थिइन्।

उक्त इजलासले उनका बुवा सिताराम दाहाल अस्पताल भर्ना भएदेखि मृत्यु हुँदासम्म को को चिकित्सकले वा स्वास्थ्यकर्मीले कतिसमयको अन्तरालमा के कस्तो उपचार सेवा दिए त्यसको विरवरण पठाउन कोशी अस्पताललाई आदेश दिएको छ।

संक्रमितको मृत्यु भएमा नेपाली सेनाको टिमले मृत्यु हुने व्यक्तिको धर्मअनुसारको दाहसंस्कार गरेर शव व्यवस्थापन गरिदिन्छ। यसमा परिवार र आफन्तलाई भाग लिन भने दिइएको थिएन।

अब आवश्यक सुरक्षाका साधन प्रयोग गरे दाहसंस्कारमा भाग लिन दिइने छ।

आइसोलेसन र आइसियुका संक्रमितलाई परिवारसंग भेट्ने प्रवन्ध मिलाउन पनि उच्च अदालतले आदेश दिएको छ।

‘अस्पतालमा उपचाररत संक्रमित वा निजका परिवार एकआपसमा भेटघाट गर्न र अद्यावधिक अवस्थाको जानकारी पाउनुपर्ने हुँदा सुरक्षा मापदण्डको अधिनमा रहि प्रत्यक्ष भेटघाट सिसिटिभि वा अन्य सञ्चारका माध्यामबाट भेटघाट र सम्पर्क गर्न पाउने अवसरको सुनिश्चितता गर्नु,’ आदेशमा भनिएको छ।

विराटनगर उच्च अदालतले संक्रमण अझै बढ्न सक्ने भएकाले भन्टिलेटर, अक्सिजन तथा आइसियु लगायतका पूर्वाधार सहितको थप अस्पताल वा स्वाथ्य सेवाको व्यवस्था गर्न, परीक्षण बढाउन र नतिजा छिटो दिन सरकारलाई भनेको छ।

होम आइसोलेसनमा भएकाहरूको स्वास्थ्यबारे अद्यावधिक जानकारी लिने, आवश्यक उपचार प्रदान गर्ने संयन्त्र, सूचना प्रणाली स्थापना गर्न र त्यस्ता संक्रमितसँग चिकित्सकले सम्पर्क वा परामर्श गरेको दैनिक अभिलेख राख्ने व्यवस्था मिलाउन पनि अदालतले भनेको छ। स्राेत : सेतोपाटी