विपीमा कोरोना संक्रमित महिलाले जन्माइन् शिशु 

विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक जना महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् ।

विराटनरगर—२ घर भएकी २० वर्षीय गर्भवती महिलाले सोमबार छोरीलाई जन्म दिएकी हुन् । ३ भदौमा कोरोना संक्रमण पुष्टि भएको संक्रमित महिला ७ भदौमा विपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।

उपचारमा संलग्न डा. सुर्यप्रसाद रिमालको निगरानीमा डाक्टर र नर्सको टोलीले प्रसुती गराएका थिए । जन्मदा शिशुको तौल २.८ किलोग्राम रहेको अस्पतालले जनाएको छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

शिशु जन्मिएको ७२ घण्टा पुगेपछि उनको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

‘शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्छ भन्ने लागेको थियो तर उहाँको सामान्य डेलिभरी भयो’, प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले भने । संक्रमणका बावजुद नर्मल डेलिभरी हुनु खुशीको विषय भएको उनले बताए ।स्राेत : हेल्थ आवाज  ।