काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफू अरुभन्दा फरक रहेको सन्देश दिने बताएका छन् । जितपश्चात् उनले पार्टीलाई हिजोजस्तै निष्क्रिय र गतिहीन बनाएर लैजाने छुट आफूहरुलाई नभएको बताए ।
“अरु नेताजस्तै रहेछ भन्ने मौका म कसैलाई दिने छैन,” उनले प्रतिनिधिलाई धन्यवाद दिँदै भने, “यो मोरा पनि उस्तै रहेछ भन्ने बनाउँदिन । तपाईंहरुको शीर झुक्न दिन्नँ ।”
उनले नेतृत्त्व परिवर्तन गर्ने कुरा सामान्य नरहेको बताए । असफल पुस्तालाई विस्थापित नगरी सुधार हुँदैन भन्ने अन्य दलहरुको नेतृत्त्व राप्रपाले गर्ने उनको भनाइ छ ।
“कुनै नेता र व्यक्तिविरुद्द गरिएको विद्रोह होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी र यसले लिएको मुद्दाको जीवनको लागिसमेत अनिवार्य र अपरिहार्य कदम थियो, ” उनले भने।
उनले निर्वाचित सबै मिलेर नवीन राप्रपा निर्माणमा लाग्ने पनि बताए । राप्रपामा आजबाट कुनै गुट नभएको समेत दाबी गरे ।
आन्तरिक चुनाव भएकाले विजयी जुलुस नगर्न र जिन्दावाद र मुर्दावादको नारा नलाउन कार्यकर्ताहरुले उनले निर्देशन पनि दिएका छन् ।