चिसो आजदेखि झन बढ्दै, हिमपात र वर्षा पनि हुने

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज साँझबाट माैसम आंशिक देखि सामान्य बदली रहने छ ।

सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा माैसम आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

सो प्रणालीका कारण बुधबारदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरूका पहाडी तथा तराइका केही भू-भागहरूमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।

यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध छ ।