अध्यक्ष पदमा ओली भारी मतान्तरले विजयी

काठमाडौं – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् ।

केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले भने, ‘भारी मतान्तरले केपी शर्मा ओली विजयी हुनुभएको छ । अब केही बेरमा सम्पूर्ण नतिजा प्रकाशित गर्छौँ ।’ आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।