काठमाडौं – बालोन डी‘अर अवार्डको दाबेदार जर्जिन्होले पेनाल्टीमा गरेको गोलमा चेल्सीले आइतबार राति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ ।
युनाइटेडका रक्षक एरोन वान–बासिस्काले थिगायो सिल्भालाई फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो । ६९औं मिनेटमा पाएको अवसरलाई जर्जिन्होले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए । यसै महिनाको सुरुमा सम्पन्न विश्वकप छनोटमा इटालीबाट खेल्दा जर्जिन्हो पेनाल्टीमा गोल गर्न चुकेका थिए।
त्यसअघि जर्जिन्होकै गल्तिमा युनाइटेडले अग्रता लिएको थियो । ५०औं मिनेटमा जर्जिन्होले मध्यमा राम्रोसँग बल नियन्त्रणमा लिन नसक्दा जाडोन सान्चोले खोसेर गोल गरेका थिए । युनाइटेड आएपछि सान्चोले प्रिमियर लिगमा गोल गरेको यो पहिलो पटक हो । उनी यसै सिजनको अगाडि जर्मन बुन्डेसलिगाको बोरुसिया डर्टमण्डबाट युनाइटेड आएका थिए ।
बराबरीपछि १३ खेलबाट ३० अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंकले मात्र माथि हो ।
सिटीले गएराति नै सम्पन्न खेलमा वेष्ट ह्यामलाई २–१ ले हराएको थियो । वेष्ट ह्याम २३ अंकका साथ चौथो स्थानमा छ । लिभरपुल २८ अंकका साथ तेस्रो स्थानमा छ । युनाइटेड भने १८ अंकका साथ आठौं स्थानमा छ । जुन वेष्ट ह्यामभन्दा पाँच अंकले पछाडि हो ।
मुख्य प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्त भएपछि सहायक प्रशिक्षक माइकल क्यारिकले अन्तरिम प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । क्यारिकको नेतृत्वमा युनाइटेडले च्याम्पियन्स लिगमा भिल्लारियाललाई हराएको थियो ।
लगातार पाँचमा पराजित भएपछि सोल्सायरलाई बर्खास्त गरेको युनाइटेडले जर्मन प्रशिक्षक राल्फ राङ्कनिकलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।