पदाधिकारीमा अटाएनन् घनश्याम भुसाल ?

काठमाडौं – उपमहासचिव रहेका घनश्याम भुसाललाई अध्यक्ष केपी शर्मा ओलीले यसपटक पदाधिकारीमा समेटेका छैनन् ।

चितवनमा जारी १० औं महाधिवेशनमा ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायतलाई पदाधिकारीमा समेट्दा भुसाल भने छुटेका छन् ।

भुसाल नवौं महाधिवेशनमा उपमहासचिवमा सबैभन्दा धैरै मत ल्याएर निर्वाचित भएका थिए । तर, यो पटक भने ओलीले उनलाई समेट्न चाहेनन् ।

भुसाल तत्कालीन महाधिवेशवनमा माधव कुमार नेपालको प्यानलबाट उठेका थिए । उनी एमालेभित्र ओलीको आलोचकका रुपमा चिनिन्छन् । भुसाल वैचारिक रुपमा प्रखर नेता मानिन्छन् ।

भुसाल अन्तिमसम्म माधव नेपाल समूहसँग रहेका थिए । यद्यपि, माधव नेपाल पार्टी फुटाउने निर्णयमा पुगेपछि उनी एमालेमै रहेका थिए ।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् भने महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन् ।

यसैबीच, नेता भुसासले उपाध्यक्षमा उमेदवारी दिने घोषणा गरिसकेका छन् । उनले उमेदवारी फिर्ता नदिए उपाध्यक्षमा निर्वाचन हुनेछ ।

ओलीले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव हुँदा सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव गरेका छन् ।