प्रधानन्यायाधीशले अदालतलाई युद्धमैदान बनाउन खोजेको बारको निष्कर्ष

काठमाडौं – नेपाल बार एशोसियसनले प्रधानन्यायधीश र गृह मन्त्रालयले अदालतलाई युद्धमैदान बनाउन खोजेको आरोप लगाएको छ ।

बिहीबार एशोसियसनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एशोसियसनले अदालतमा एसआरएल हतियारसहितका दंगा प्रहरी भित्र्याउने अनुमति दिएर अदालत प्रशासन र गृह प्रशासनले न्यायको मन्दिरलाई युद्धमैदान बनाउन खोजेको आरोप लगाएको हो ।

‘न्यायको मन्दिरलाई युद्धमैदान बनाउन खोजियो,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्तिलाई उपाध्यक्ष अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले वाचन गर्दै भने, ‘अदालतलाई युद्धमैदान बनाउन एसएलआर हतियारसहितको प्रहरी प्रवेश गराएर कानुन व्यवसायीमाथि दमन गरियो ।’

बारले शुक्रबारदेखि थप सशक्त विरोधका कार्यक्रम गर्ने पनि जनाएको छ । उसले बार परिसरभित्र कानुन व्यवसायीलाई दिइएको धम्कीप्रति खेद प्रकट गर्दै बारको गेटमा बसेका प्रहरीप्रति पनि शंका प्रकट गरेको छ ।

उपाध्यक्ष भट्टराईले अदालतमा हतियारसहितको दंगा प्रहरी प्रवेश गराएको विषयमा छानविन गर्न माग गरेको छ । छानविनको प्रतिवेदन र स्पष्टिकरणको आफूहरुलाई चित्त नबुझे घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनीसमेत उनले दिए ।

बारले शुक्रबारदेखि नै सर्वोच्च परिसरमा तैनाथ गरिएको दंगा प्रहरी हटाउन गृह र अदालत प्रशासनलाई आग्रह गर्दै त्यसविरुद्ध हुने घटनाको जिम्मेवार प्रधानन्यायाधीश र गृह प्रशासन हुनेसमेत जनाएको छ ।