बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चयन हुँदै, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित

फाइल तस्बिर

काठमाडौं –  बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गर्नु भएको छ । नेकपा (एकीकृत समाजवादी_) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गर्नु भएको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको लागि आज अपरान्ह ३ बजेसम्मको समयसीमा तोकसँगै पाण्डेले कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गर्नु भएको हो ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दावी पेश गर्न भनिएको छ । बागमती प्रदेशसभा १ सय ९ सदस्यीय रहेको छ भने बहुमत पुर्याउन ५५ सांसद जरुरी हुन्छ ।

यसैबीच पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै आजै गठबन्धनबाट एक/एक जना मन्त्रीले समेत शपथ लिने बताइएको छ । पाण्डे झण्डै सात महिना मुख्यमन्त्री कायम रहने बताइएको छ । गठबन्धनबीचको सहमति अनुसार त्यसपछिको बाँकी समय कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने समझदारी छ ।

यसअघि हिजोको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गर्नुभएको थियो ।