मासु भाग लगाउने क्रममा विवाद हुँदा युवकको हत्या

काठमाडौं – दसैँमा मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या भएको हो ।

फूलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा बिक्रममाथि दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।