हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन्। नेकपा (एमाले) विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले आइतबारदेखि सुरु हुने नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन लागेकी हुन्।
आइतबार दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनेछन्। मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराएका थिए। शाक्यले असोज २५ गतेसम्म संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ।
गत भदौ २ मा एमालेको एकल बहुमतबाट सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना देखिँदैन। १०९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार जोगाउन शाक्यलाई ५५ सांसद चाहिन्छ। तर‚ ५६ सांसदसहित बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यसँग हाल ४३ सांसद मात्रै छन्।