मन्त्रिपरिषद‍्द्वारा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

काठमाडौं –   सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय आज गरेको हो । सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पुरा गरेर उनलाई बर्खास्त गरेको ती मन्त्रीको भनाइ छ ।

ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो । उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । यद्यपी, उनले आफ्नो पदबाट राजीनामा दिएपछि ढुंगानाले दिन आनाकानी गरेका थिए ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत यो प्रकरणमा नाम जोडिएको छ । उक्त प्रकरणपछि ढकालले बोर्डमा हुने महासंघको प्रतिनिधिको पदबाट राजीनामा दिइसकेका छन् ।

ratopati