विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान १५ का ६७ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड—१९ अस्पतालमा शनिबार सवा १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेपारी गरिएको प्रतिष्ठानले जनाएको छ ।
थेरापीपछि स्वास्थ्यमा सुधार देखिएको भएपनि शनिबार उपचारको क्रममा मृत्यु भएको बताइएको छ । उनी विपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले बताए । एक सातादेखि अत्याधिक खोकी, श्वासप्रश्वास फेर्न समस्या र ज्वरो आएपछि उनी प्रतिष्ठानमा भर्ना भएका थिए ।
उच्च रक्तचापको बिरामी उनको साउन २७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई धरानको एन्फा क्वारेन्टिनबाट स्वास्थ्यमा समस्या भएपछि प्रतिष्ठानमा पठाइएको थियो ।
यो सँगै धरानमा कोरोनाको कारण मृत्यु हुनेको संख्या दुई जना पुगेको छ । यसअघि एक जना कोराना संक्रमित महिलाको मृत्यु भएको थियो । मृतकको शव व्यवस्थापन प्रोटोकलअनुसार गर्ने तयारी भइरहेको प्रवक्ता डा.सापकोटाले बताए । हेल्थअावाजबाट ।