सुर्खेत – मुगुमा दुईदिने निःशुल्क दन्त उपचार सेवा संचालन गरिएको छ । शुक्रबार र शनिबार जिल्लाको मुगुमकार्मारोगं गाउँपालिकाकोे स्वास्थ्य शाखा अन्तर्गत दन्त शिविर संचालन गरिएको हो।
शुक्रबार मात्र दन्त समस्या भएका १९ जनाले शिविर मार्फत निःशुल्क उपचार गराएका छन् । दाँतको समस्याबाट छटपटाई रहेका स्थानीयवासीलाई सामुदायिक अस्पताल रिउसबगरमा निःशुल्क दन्त शिविर संचालन गरि सेवा प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक बलिराज बुढाले जानकारी दिए ।
जस अन्र्तगत ११ जना महिला र ८ जना पुरुषलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गरीएको छ ।
कोरोना भाईरस (कोभिड १९) का कारण नेपाल सरकारले जारी गरेको लकडाउन र सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डलाई आत्म साथ गरी सामाजिक दुरी कायम राख्दै स्वास्थ्य शाखाले दाँतको समस्या बाट छटपटाई रहेका स्थानीयवासीलाई उपचार दिएको हो ।
जनस्वास्थ्य निरीक्षक बुढाका अनुसार दाँत सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट दन्त समस्या भएका ब्यक्तिहरुलाई सेवा प्रदान गरिएको हो ।
जन स्वास्थ्य निरीक्षक बुढा र सामुदायिक स्वास्थ्य निरीक्षक राज बहादुर रोकायाको नेतृत्वमा रहेको टोलीले उक्त गाउँपालिकाका स्थानीयलाई सेवा प्रदान गरेका हुन ।
सामुदायिक स्वास्थ्य केन्द्रमा सेवा लिन आएका मुगुमकार्मारोगं गाउँपालिका वडा न. ६ रिउसका स्थानीय ताक्पा लामाले दन्त समस्याबाट ग्रसित भएको अवस्थामा समयमै शिविर सञ्चालन भएकोले दाँतको समस्या बाट छुटकरा पाएकोमा खुसी व्यक्क्त गरे ।
दाँतको उपचार गर्नको लागि सदरमुकाम गमगढी बजारमा जान पनि स्थानीय सरकारले निषेधाज्ञा जारी गरेको छ । आर्थिक अवस्था पनि न्यून भएका कारण समस्या परेको थियो उनले भने । गाउँपालिकाकोे स्वास्थ्य शाखाले दन्त उपचार सेवा संचालन गर्दा आफुलाई सहज भएको उनको भनाई छ ।
शिविरमा करिब १५ हजार बरावरको रकमबाट स्वास्थ्य सामग्रीको निःशुल्क सेवा र दाँत गिजा, चेकजाँच, तथा परामर्श गरिएको छ । साथै गाउँपालिकाका ९ वटै वडाहरुमा शिविर सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य शाखा मुगुले जनाएको छ ।