काठमाडौं – सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।
गत सोमबार नेपाल आएका भिसाको म्याद सकिएकाले अध्यागमन कार्यालयले गजमेरलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो । भुटानी शरणार्थीका रूपमा नेपाल आएका गजमेर पछिल्लो समय अमेरिकामा बसोबास गर्छन् ।
गजमेर अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए । तर, उनको भिसाको म्याद गुज्रिसकेको अध्यागमन कार्यालयले जनाएको छ ।
प्रमुख अध्यागमन अधिकृत शिशिर वैद्यले गजमेरलाई अध्यागमनबाटै फिर्ता गरिएको जानकारी दिए । ‘उहाँ टुरिस्ट भिसामा नेपाल आएर २७० दिन बस्नुभएको रहेछ । यस्तो भिसामा विदेशीहरु नेपालमा जम्मा १५० दिन मात्र बस्न पाउँछन्’ उनले भने ।
वैद्यका अनुसार गजमेर भिसा अवधिभन्दा १३० दिन बढी बसेका हुन् । गत सोमबार कतार एयरवेजको क्यूआर ६५० कलसाइनको जहाजमा गजमेर अमेरिकाबाट काठमाडौं आएका थिए ।
गजमेरलाई कतार एयरवेजको उक्त जहाजबाटै फिर्ता पठाइएको अध्यागन विभागले जनाएको छ । अब गजमेर सन् २०२२ को जनवरीमा मात्र नेपाल आउन पाउनेछन् ।