बार्सिलोनाविरुद्ध बेनफिकाको ३–० को जित

काठमाडौं – बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा अर्को नमिठो नतिजा आत्मसात् गरेको छ । नेपाली समयअनुसार बुधबार मध्यराती भएको खेलमा बेनफिकाले बार्सालाई ३–० ले हरायो ।

बेनफिकाबाट उरुग्वेली स्ट्राइकर डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे । यसअघि पहिलो खेलमा बार्सालाई बार्यनले ३–० ले नै हराएको थियो । च्याम्पियन्स लिगमा सुरुवाती दुई खेल सकिदाँ बार्यनले ६ र बेनफिकाले ४ अंक जोडेका छन् । तर, बार्साले कुनै अंक जोड्न सकेको छैन।

बुधबार पनि बार्साका कुनै स्ट्राइकरले राम्रो प्रदर्शन गर्न सकेनन् । च्याम्पियन्स लिगमा सुरुवाती दुई खेल खेल्दासम्म बार्साका खेलाडीले गोलको खाता खोल्न सकेका छैनन् । जसकारण, प्रशिक्षक रोनाल्डो कोम्यान निकै दबाबमा छन् ।