काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए ।
शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले विधि, विधानलाई नमान्ने र संविधान मिच्ने गरेको आरोप लगाए । नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको दाबी गर्दै उनले यसमा अन्य दलहरूको समेत साथ रहेको दाबी गरे । अध्यक्ष नेपालले भने, ‘केपी ओलीले विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षडयन्त्रमा लागे । त्यसैले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना गर्नुपर्यो ।’
समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै देश र जनताको हितका लागि काम गर्ने बताउँदै उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको बताए । विरोधीहरुले भनेजस्तो नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्लाका पछि नलाग्न समेत उनले आग्रह गरे ।