अमेरिकामा भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीको विरोध

चार दिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भएको छ। दर्जनौँ भारतीय–अमेरिकी नागरिकहरूले अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसअघि विरोध जनाएका हुन्।

विरोधकर्ताहरूले विभिन्न प्लेकार्ड र पर्चा बोक्दै ह्वाइट हाउसअघि नाराबाजी गरेका थिए। उनीहरूले बोकेको पर्चामा ‘भारतलाई फासिज्मबाट बचाउ’, ‘मुस्लिम र अन्य अल्पस्ंख्यकमाथिको अत्याचार बन्द गर’, ‘मानव अधिकार हनन बन्द गर’, ‘मोदी फिर्ता जाउ’ लगायतका नारा लेखिएका थिए।

सन् २०१४ मा मोदी भारतको प्रधानमन्त्री बनेदेखि उनीमाथि देशमा हिन्दूवाद बढेको र मुस्लिम र अन्य अल्पसंख्यक समूहमाथि विभेद गरेको आरोप लागिरहेको छ।

क्वाड सम्मेलनका लागि यतिबेला मोदी अमेरिकामा छन्। मोदी शनिबार न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा समेत भाग लिनेछन्।