रुकुम पूर्वमा अक्सिजन प्लान्ट बन्दै

रुकुम- रुकुम पूर्वमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ । रुकुम पूर्व अस्पतालमा जिल्लामै पहिलो पटक अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो । जिल्लामा आवश्यक अक्सिजन जिल्लामै उत्पादन गर्नका लागि प्लान्ट जडान गर्न लागिएको हो ।

अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ७५ लाख रुपैयाँ बजेट यसअघि नै बिनियोजन गरिएको थियो । टेन्डरमार्फत ७२ लाख बजेटमा अक्सिजन प्लान्ट जडान भइरहेको छ । अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक उपकरणहरु आइसकेका छन् । राप्ती सर्जिकल दाङले प्लान्ट जडानको जिम्मा लिएको छ ।

प्रविधि इन्टरनेश्नल आइएनसीको प्राविधिक सहयोगमा अक्सिजन प्लान्ट जडानको काम भइरहेको बताइएको छ । जिल्लामा विद्युत आपूर्ति भरपर्दो नभएकाले केही समस्या हुने देखिएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत छ तर भरपर्दो नहुँदा केही समस्या हुने देखिएको हो ।

अक्सिजन उत्पादनका लागि ५० किलोवाट विद्युत आवश्यक पर्ने बताइएको छ । विद्युत आपूर्ति सहज भएमा उक्त प्लान्टबाट दैनिक ४० लिटरका ३० देखि ३२ वटा सिलिन्डर भर्न सकिने रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेश चौधरीले जानकारी दिए ।

अब जिल्लामा अक्सिजनको अभाव नहुने डाक्टर चौधरीको भनाइ छ । यसअघि अक्सिजन सिलिन्डर भर्न बुटवल, नेपालगञ्ज, पोखरा पुग्नु पर्ने बाध्यता थियो ।