काठमाडौं – गत माघमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय भागरथी भट्टको बलात्कारपछि हत्या भयो । हत्याको १३ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गर्यो । अभियुक्त थिए भागरथीकै भाइ नाता पर्ने दिनेश भट्ट ।
गत असोजमा बझाङको मस्टा गाउँपालिका–२, खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भयो । बलात्कार र हत्या आरोपमा २० वर्षीय राजेन्द्र बोहरा पक्राउ परे । उनी सम्झनाका छिमेकी थिए ।
गत भदौमा ललितपुरको महालक्ष्मी नगरपालिकामा १७ वर्षीया किशोरी बलात्कार आरोपमा उनकै ४० वर्षीय बाबु पक्राउ परे ।
२०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया निर्मला पन्तका हत्यारासम्म प्रहरी अझै पुग्न सकेको छैन ।
बलात्कारका घटनामा परिवारभित्रकै सदस्य, आफन्त संलग्न रहेका दर्जनौँ घटना छन् । यी बलात्कारका प्रतिनिधिमूलक घटना मात्रै हुन् । नेपालमा भएका अधिकांश बलात्कारका घटनामा आफन्त, चिनजानका व्यक्ति, साथीकै संलग्नता रहेको पाइएको छ ।
पछिल्लो तीन वर्षमा बलात्कारका ६ हजार ९०६ घटना प्रहरीमा दर्ता भएका छन् । अधिकांश बलात्कारका घटनामा आफन्त, चिनजानकै व्यक्तिको संलग्नता रहेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकानुसार आर्थिक वर्ष ०७७/०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बलात्कारका घटना बढेका छन् ।
प्रहरीको तथ्यांकानुसार प्रायजसो घटनाहरूमा नजिककै चिनजानका व्यक्तिहरूको संलग्नता देखिन्छ । आर्थिक वर्ष ०७७७/०७८ मा दुई हजार ५३४ वटा मुद्दाका दुई हजार ८१५ जना प्रतिवादीहरूमध्ये ९.८८ प्रतिशत अर्थात् २७८ जना प्रतिवादीहरू हाडनाता सम्बन्धका छन् ।
सोही अवधिमा ३०.८३ प्रतिशत अर्थात ८६८ जना छिमेकीमाथि बलात्कार मुद्दा छ । समग्रमा ८२.२० प्रतिशत अर्थात् दुई हजार ३१३ प्रतिवादी हाडनाता र नजिकको चिनजानका व्यक्ति छन् ।
आर्थिक वर्ष ०७७७/०७८ मा बलात्कारका दुई हजार ५५४ घटनामध्ये १० वर्षमुनिको उमेर समूहका ११.९८ प्रतिशत, ११ देखि १८ वर्ष उमेर समूहका रहेका ५३.२४ प्रतिशत र ६० वर्षदेखि माथिका १.४८ प्रतिशत पीडित छन् ।
आर्थिक वर्ष ०७७र०७८ मा जबर्जस्ती करणी उद्योगका घटना पनि झन्डै ७ प्रतिशतले बढेको छ । यौन दुर्व्यवहार भने ६६ प्रतिशतले घटेको प्रहरी तथ्यांकले देखाउँछ । बाल दुराचार २० प्रतिशतले बढेको छ भने अप्राकृतिक मैथुन ३३ प्रतिशतले बढेको छ ।
प्रहरी अधिकारीहरू बलात्कारका घटना रोक्न परिवारदेखि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँछन् । याे समाचार बाह्रखरीबाट साभार गरीएकाे हाे ।