अन्तरिम आदेशविरुद्ध अधिवक्ता अर्यालको पूरक निवेदन

काठमाडौं- अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिटको सुनुवाइ अवरुद्ध भएको भन्दै पूरक निवेदन दर्ता गराएका छन्।

अर्यालले सोमबार सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेका हुन्। यसअघि न्यायाधीश हरि फुयालको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवाद टुंगो नलाग्दासम्म सुनुवाइ स्थगन गर्न अन्तरिम आदेश दिएको थियो।

सो अन्तरिम आदेशबाट संवैधानिक इजलासमाथि हस्तक्षेप भएको भन्दै अधिवक्ता अर्यालले आदेश खारेजीको माग गर्दै पूरक निवेदन दिएका हुन्। त्यसअघि संवैधानिक इजलासमा संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा इजलासबाट अलग हुनुपर्ने तर्क कानून व्यवसायीहरूले गरेका थिए।

त्यसलगत्तै प्रधानन्यायाधीश राणाले आफू इजलासमा नबस्ने आदेश गरेका थिए। त्यसयता संवैधानिक इजलास गठनको बारे नयाँ विवाद सुरु भएको थियो।