सभामुखले आह्वान गरेको सर्वदलीय बैठक एमालेले गर्‍यो बहिष्कार

काठमाडौं – सभामुख अग्नि सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव, लोसपाबाट महन्त ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्। राप्रपा सांसद राजेन्द्र लिङ्देन भने उपत्यकाबाहिर रहेकाले उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराएका छन्।

नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरेपछि निकास खोज्न सभामुखले बैठक राखेका हुन्। संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग अहिले देखिएको गतिरोध अन्त्य गर्न बैठक बोलाइएको हो।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताएका छन् । एमालेसँग सम्बन्धित छलफलमा अरूलाई किन बोलाउनु पर्‍यो भन्ने हाम्रो भनाइ हो। असम्बन्धित दलका नेतालाई बोलाएको बैठकमा हामी जाँदैनौं,उनले भने,अब सभामुखसँग दुई वटामात्रै विकल्प छन्, कि त हामीले कारबाही सिफारिस गरेका सांसदहरूको लिष्ट टाँस्नुपर्‍यो नभए मार्गप्रशस्त गर्नुपर्‍यो।

आफूले कारबाही गरेका १४ जना सांसदको सूचना नटाँसेर सभामुखले उनीहरूलाई नयाँ दल खोल्न सहज बनाइदिएको भन्दै एमालेले लगातार संसद बैठक अवरूद्ध गरिरहेको छ।