एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

सरकारलाई समर्थन नरहेको जानकारी आज दिने

नेकपा (एकीकृत समाजवादी)को प्रदेश नम्बर १ को संसदीय दलको नेता राजेन्द्र राई चयन भएका छन्।

प्रदेश सभामा भोजपुरबाट निर्वाचित राई दलको नेता चयन भएको र प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी आज प्रदेश सभा सचिवालयलाई दिने तयारी रहेको उक्त दलले जानकारी दिएको छ।

‘शनिबारको बैठकबाट नै हामीले उहाँलाई दलको नेता चयन गरेका छौं। आज प्रदेशसभामा त्यसको र सरकारलाई समर्थन नरहेको जानकारी सहितको पत्र पठाउने छौं,’ सांसद उपेन्द्र घिमिरेले भने।

प्रदेश नम्बर १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सांसदले सनाखत गरेका थिए। उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको थियो। मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका थिए।

मुख्यमन्त्री आचार्यले सदनमा विश्वासको मत लिने बताउँदै आएका छन्। उनलाई आफू नेतृत्वको सरकार जोगाउन ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ। जसमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन्।

तीमध्ये एक जना सांसद् गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन्। उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद थिए।

यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४१ मा झरेको छ। यो संख्यामा एक जना सभामुख पनि छन्। बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन्। यसरी एमालेको कूल मत संख्या अब ३९ मा झरेको छ।

प्रदेश सभामा कांग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन्। यी तीन दलसँग जम्मा ३९ जना सांसद छन्। त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ जना पुगेको छ। यो संख्या सरकार ढाल्न र नयाँ बनाउन पुग्दो बहुमत हो।

गठबन्धनले संघीय लोकतान्त्रिक मञ्चकी सांसद् विष्णुमाया तुम्बाहाम्फेको साथ पनि पाउने जनाएको छ। उनी थपिँदा विपक्षी गठबन्धनमा कूल संख्या ५० भएको छ।

प्रदेशमा गणितीय सम्भावना आफू अनुकूल भए पनि अहिलेको विपक्षी गठबन्धनले कसलाई मुख्यमन्त्री बनाउने टुङ्गो गरेको छैन।

स्रोतकाअनुसार केन्द्रमा पाँच दलिय गठबन्धनको शीर्ष नेताहरुले केही दिनमै यसको टुङ्गो लगाउने छन्। ‘भागबन्डाका लागि शीर्ष तहमा छलफल जारी छ,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘आज भोलिमै टुङो हुने सम्भावना छ।’

ती नेताका अनुसार प्रदेश सरकारहरुको कहाँ कसले नेतृत्व गर्ने भन्ने सवालमा प्याकेजमा सहमति गर्ने तयारी छ।