नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता

काठमाडौं – निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ ।

गत १२ असारमा दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन परेको थियो । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको छ ।

तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता नेकपा एमाले अस्तित्वमा थिएन ।

निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय हुनुहुन्छ ।

केही दिन अघि एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै यो पार्टी दर्ताको प्रक्रियामा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको हातरहेको दावी गर्नुभएको थियो ।  त्यसले गर्दा पार्टीमा विवाद नै उत्पन्न भयो र स्थायी कमिटीको बैठक नै प्रभावित भएको थियो ।