जापानी प्रधानमन्त्री सुगाले पद छाड्ने घोषणा गरे

काठमाडौं – जापानका प्रधानमन्त्री योसिहिडे सुगाले पद छाड्ने भएका छन्। उनले शुक्रबार पद छाड्ने र यसै वर्ष हुने चुनावमा नउठ्ने घोषणा एक्कासी गरेका हुन्।

सुगाले भने, ुम तत्काल कोरोना नियन्त्रणमा केन्द्रित हुन चाहन्छु, त्यसैले पार्टी पदाधिकारीको बैठकमा आगामी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने जानकारी गराएको छु,ु सुगाले शुक्रबार पत्रकारसँग भने, ुम दुवैका लागि दौडधुप गर्न सक्दिनँ र मैले एउटामा मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मलाई लाग्यो।ु उनले अर्को साता पत्रकार सम्मेलन गर्ने बताए।

प्रधानमन्त्री तथा दलको नेतामा रहन उनले आफ्ना सहयोगी बर्खास्त गर्ने, संसद विघटन गर्ने र सत्तारुढ लिबरल डेमोक्रटिक पार्टी ९एलडिपी० का पदाधिकारी तथा मन्त्रिमण्डल नै समेत हेरफेर गर्ने लख काटिएको थियो। तर उनको शुक्रबारको घोषणासँगै ती सबै अनुमानमा पूर्णविराम लागेको छ।

सुगाको पद त्याग्ने घोषणापछि शुक्रबार जापानी सेयर बजारमा सेयरको भाउ बढेको छ।

तर सेप्टेम्बर २९ सम्म उनी प्रधानमन्त्री तथा दलको अध्यक्ष रहने अपेक्षा गरिएको छ। २९ सेप्टेम्बरमा एलडिपीको अध्यक्षको टुंगो लाग्नेछ। पार्टीको नयाँ अध्यक्षले २८ नोभेम्बरमा हुने आमचुनावसम्म प्रधानमन्त्रीको कार्यभार समेत सम्हाल्ने छ।

गत वर्ष खस्कँदो स्वास्थ्यको कारण देखाएर तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएपछि सुगा जापानको प्रधानमन्त्री बनेका थिए। सुगाले आफ्नो एक वर्षको कार्यकाल कोरोना महामारी नियन्त्रणमा उनले चासो नदेखाएको भन्दै निकै आलोचना खेप्नु परेको छ। यसबाट जापानीमाझ उनको लोकप्रियताको ग्राफ ह्वात्तै तल झरेको छ।

कोरोनाको व्यापक संक्रमण भएको जापानलाई संक्रमण नियन्त्रण गर्न हम्मेहम्मे परेको छ। कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम नचालेका कारण सुगाको लोकप्रियता ३० प्रतिशतभन्दा तल खस्केको छ। यसै वर्ष त्यहाँ संसदको चुनाव पनि हुँदै छ।

जापानले सफलतापूर्वक आयोजना गरेको ओलम्पिक खेलको जससमेत सुगाले लिन सकेनन्। उनी प्रधानमन्त्री हुनुअघि नै कोरोना संक्रमणका कारण गत वर्ष नै हुनुपर्ने ओलम्पिकको आयोजना पछि सरेको थियो।

एक वर्षमात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका सुगाले कोरोनालगायत विभिन्न समस्यासँग जुधेर पार पाउन आफ्नो खस्कँदो स्वास्थ्यले साथ नदिने शुक्रबार बताए। सत्तारुढ दल एलडिपीको अध्यक्षका लागि यसै महिना हुने निर्वाचनमा उनी सहभागी नहुने भएका छन्।

यसबाट अब सत्तारुढ दलको नयाँ नेतृत्व चयनका लागि बाटो खुला भएको छ। एलडिपीको अध्यक्षमा निर्वाचित हुनेले नै प्रधानमन्त्रीको पद पनि सम्हाल्ने छ।

एलडिपीमा सुगाका उत्तराधिकारी को हुने हो प्रस्ट भइसकेको छैन। तर जापानले कोरोनाविरुद्ध खोप विकास गरेपछि भने मन्त्री तारो कोनो जापानीमाझ लोकप्रिय बनेका छन्। उनी पार्टी अध्यक्षको दौडमा छन्। साथै पूर्व विदेशमन्त्री फूमियो किसिदाले यसअघि नै पार्टी अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्।

सुगाभन्दा पहिले आबे ८ वर्ष प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए, जुन एउटा कीर्तिमान नै हो। त्यसअघि ६ वर्षमा वर्षेनीजस्तो जापानमा प्रधानमन्त्री फेरिँदा ६ जना प्रधानमन्त्री बनेका थिए। आबे प्रधानमन्त्री भएको पहिलो वर्षमा उनले पनि निकै समस्यासँग जुध्नु परेको थियो।