सुर्खेतका सबै विद्यालय आइतबारदेखी सञ्चालन गरिने

सुर्खेत – आउने सातादेखि कोरोना संक्रमणका कारण बन्द भएका सुर्खेतका नीजी तथा सामुदायिक विद्यालयहरु खुल्ने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको विहीवार बसेको बैठकले स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो ।

विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरिनेछ । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ग्रीन जोनमा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेड जोनमा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सम्भवतः आगामी सातादेखि सुर्खेतका सवै सामुदायिक र संस्थागत विद्यालयहरु खुल्ने बताए । उनले स्वास्थ्य संक्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याव्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने जानकारी दिए ।