एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०११ यता युरोपेली क्लब फुटबलमा खेलाडीको सरुवामा ४८ अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी रकमको कारोबार भएको जनाएको छ।
फिफाले गरेको सन् २०११ देखि २०२० सम्म भएका सरुवाको अध्ययनबाट यति धेरै रकमको कारोबार भएको देखिएको हो। फिफाको अध्ययनअनुसार खेलाडी किनबेचमा सबैभन्दा धेरै रकम खर्चने क्लबमा बेलायती क्लबहरू सबैभन्दा माथि छन्। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई अर्को बेलायती क्लब चेल्सीले पछ्याएको देखिन्छ।
फिफाको प्रतिवेदनले सरुवा बजारमा सबैभन्दा बढी रकम खर्च गर्ने शीर्ष ३० क्लबमध्ये १२ क्लब बेलायतका छन्। साथै प्रतिवेदनले पछिल्लो एक दशकमा सरुवामा संलग्न हुनेमा सबैभन्दा धेरै ब्राजिलका खेलाडी रहेको र बाँकी देशका खेलाडीको तुलनामा ब्राजिली खेलाडीका लागि निकै रकम खर्च गरिएको उल्लेख छ। रिर्पोटले १५ हजार १ सय २८ ब्राजिली खेलाडीमा ७ अर्ब ७ करोड डलर खर्च भएको उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार बेलायती क्लबमध्ये थोरै रकम खर्च गरेको साउथह्याम्टन सूचीको २१औं स्थानमा छ। तैपनि उसले जर्मन क्लब बोरुसिया डर्टमन्डभन्दा बढी रकम खेलाडीको सरुवामा खर्च गरेको छ।
सरुवामा हालसम्म २० करोड डलरभन्दा बढीको रकममा बिक्री हुने खेलाडीको सूचीमा नेमार मात्र छन्। सन् २०१७ मा पेरिस सेन्ट जर्मन ९पिएसजी० ले नेमारलाई बार्सिलोनाबाट २२ करोड २० लाख अमेरिकी डलरमा अनुबन्ध गरेको थियो।
फिफाले सार्वजनिक गरेको ९८ पृष्ठको रिपोर्टमा पछिल्लो एक दशकमा एजेन्टको शुल्कमा मात्रै ३ अर्ब ५० करोड अमेरिकी डलर खर्च भएको र यो अवधीमा खेलाडी सरुवामा एजेन्टको प्रयोग ६९ दशमलव १ प्रतिशत बढेको उल्लेख छ।
खेलाडी ट्रान्सफरमा खर्चालु क्लबको सूचीमा म्यानचेस्टर सिटी शीर्षमा छ। उसलाई चेल्सी, बार्सिलोना, पिएसजी र रियाल म्याड्रिडले पछ्याइरहेका छन्। शीर्ष ३० क्लबमा १२ क्लब बेलायतका छन्। ती क्लबमा लेस्टर, साउथह्याम्टन, उल्भ्स, एभर्टन, वेस्टह्याम र न्युक्यासल पनि छन्।