काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डले छुट्टाछुट्टै समयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन्।
बैठकका एजेन्डामा कुरा नमिलेपछि अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबार बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका छन्।
बैठक भर्चुअल रूपमा हुनेछ।
‘पार्टीमा सिर्जना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासबारे छलफल गर्न अध्यक्षले केन्द्रीय समिति बैठक बोलाउनुभएको छ,’ विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले भने, ‘पटक(पटक कुराकानी गर्दा पनि अध्यक्ष र संयोजकबीच एजेन्डामा सहमति हुन सकेन। त्यसपछि पार्टीभित्र उत्पन्न गतिरोध अन्त्य गर्न अध्यक्षले प्रचलित अभ्यास र कानुनको सहारा लिएर गाँठो फुकाउन केन्द्रीय समिति बैठक बोलाउनुभएको छ।’