पाँच दलीय गठबन्धन सरकार बुधबार विस्तार हुने भएको छ। गठन भएको ५० दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलहरु जुटेका हुन्। मन्त्रिमण्डल विस्तार र पद बाँडफाँटको टुंगो लगाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक भोलि मंगलबार पनि बस्ने भएको छ।
मंगलबारको बैठकले पाँच दलबीच बाँकी मन्त्रालयको भागवण्डा गरेर सहमति जुटाउने तयारी गरेको प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ। मंगलबार सबै मन्त्रालयमा भागवण्डा मिलाएर बुधबार मन्त्रिमण्डल विस्तार गर्ने गरी मंगलबार शीर्ष नेताहरुबीच छलफल तयारी भएको हो।
सरकार विस्तारबारे सहमति जुटाउन आइतवार पनि सत्ताधारी दलका शीर्ष नेता दुई पटक बसेका थिए। तर सत्ता साझेदार सबैले आफ्नो अडान नछाडेपछि कुरो मिलिसकेको छैन।
सहमति जुटाउने गरी मंगलबार कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य बेदुराम भुसाल, जनता समाजवादी पार्टी ९जसपा०बाट अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई उपस्थित हुनेछन्।
‘मंगलबार बिहान गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्छ। त्यहीँबाट मन्त्रालयको भागवण्डा टुंगो लगाउँछ,’‘स्रोतले नेपालखबरसँग भन्यो, ‘भोलि नै दलहरुले बैठक राखेर मन्त्रीहरु सिफारिस गर्नेछन्। सम्भवतः बुधबार मन्त्रिमण्डलले पूर्णता पाउनेछ ।’
सोमबार पनि गठबन्धनका नेताहरुको बैठक बसेको थियो । तर, यो बैठकमा बजेट संशोधनबारे छलफल भएको नेताहरुले बताए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबारसम्म मन्त्रालयको भागवण्डा टुंगो लगाएर मन्त्री छान्ने बताइसकेका छन्।
उनले सोमबार राजधानीको जोरपाटीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताए। उनले मंगलबार पनि बसेर यसबारेमा ठोस सहमति जुटाइने जानकारी दिएका छन्।
अहिलेसम्म गठबन्धनमै मन्त्रालयको भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको हो। माओवादी केन्द्रले ६ मन्त्रालय र एक राज्य मन्त्रालयमा दाबी गरेको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ६ वटा मन्त्रालयमा दाबी गरेको छ। जसपाले पनि ६ वटा मन्त्रालयकै दाबी गरिरहेको छ। उसले माओवादी र समाजवादीकै हैसियत पाउनुपर्ने अडान लिएको छ।
असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ५० दिन भइसक्दा पनि सरकार विस्तार गर्न सकेका छैनन्। त्यहीकारण उनी चर्को आलोचनाको केन्द्र भइरहेका छन्। नेपालखबर