कमेडी च्याम्पियनका विक्की भन्छन्, प्रतिस्पर्धाबाट बाहिरिए पनि केही छैन

काठमाडौं – यतिबेला कमेडी च्याम्पियन चर्चामा छ। च्याम्पियनको ३४ औं भागमा कमेडियन विक्की अग्रवालको ‘पेन्टोमाइमु ले दर्शकको ध्यान तानेको छ।

भारतको सिक्किमबाट आएर प्रतिस्पर्धा गरिरहेका उनी मौलिक र फरक प्रस्तुति दिएर दर्शकको मन जितिरहेका छन्।

उनको बोल्ने शैली र कुनै पनि वाक्यमा गर्ने पञ्चिङ लाइनले निर्णायकसँगै दर्शक पनि खुशी छन्।

तर, शनिबार उनले देखाएको ‘पेन्टोमाइमु पहिलेका कमेडीभन्दा फरक थियो। जसले गर्दा सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ। अन्तिम चरणमा आउँदा उनको यो अभिनयबारे कतिपयले उनले रिस्क लिएको बताइरहेका छन्।

मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छ ? यो थिममा उनले संवादविहीन अभिनय पस्किए जुन आफैंमा फरक स्वादको थियो।

उनको कलात्मक प्रस्तुतिमा दर्शकदीर्घा शान्त देखिन्थ्यो। आफ्नो प्रस्तुतिलाई लिएर अग्रवालले आफूले जोखिम उठाएको बताए।

सन्तोष पन्तले अग्रवालको प्रस्तुतिलाई लिएर भनेका छन्, हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ। यो प्रयोग तिमीलाई  गाह्रो पर्न सक्छ। हाम्रो समाजले यो बुझ्दैन, मैले त बुझिनँ। तिमीले प्रस्तुतिमा फिलोसोफी त दियौ तर, तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो त ? यहाँ त कोही हाँसेन। हाम्रो आफ्नै स्टाइल छ। आगामी दिनमा यसलाई फलो गर।’

उनको यो टिप्पणीलाई जवाफ दिदैँ अग्रवालले भने, हिजो बेलुकासम्म मैले स्ट्यान्डअप कमेडी गर्ने कि ‘पेन्टोमाइमु भन्ने दोधारमा थिएँ। तर, मैले कमेडीमार्फत नयाँ चिज दर्शकलाई परिचय दिनु थियो। मैले यही गरें। प्रतिस्पर्धाबाट बाहिरिए पनि मलाई केही छैन।