काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षधर नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको हो ।
महाधिवेशनमा एकजुट भएर लाग्न सिंगो पार्टी पंक्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय गरिएको नेता सिंहले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेटपछि पौडेल पक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पंक्तिलाई एकजुट भएर अघि बढ्न आह्वान गर्ने निष्कर्षमा पुगेको हो ।
नेता सिंहले भने, “क्रियाशील सदस्यहरुको विवादसम्बन्धी बाँकी काम पनि विधि र नियमपूर्वक गरेर महाधिवेशनमा जाने विषयमा सभापतिसँग कुरा भएको छ । त्यसै अनुसार अघि बढिनेछ । आजै यो बैठकबाट रिले अनसनमा बसिरहेका जिल्ला सभापतिको माग सम्बोधन हुने वातावरण बनेकाले रिले अनसन तोडाउने निर्णय गरिएको छ । अव महाधिवेशनका लागि सबैले एकजुट भएर कांग्रेसको महाधिवेशनमा लाग्नका लागि एक कार्यक्रमको आयोजना गरी अनुरोध गर्ने भन्ने सहमति पनि गरिएको छ ।”
पौडेल पक्षले दुईदिन भित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पनि पार्टी सभापति देउवालाई दबाब दिएको छ । दुईदिन भित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद समाधान गरी वडा अधिवेशन यही १८ भदौबाट प्रारम्भ गर्ने पार्टी केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढने विषयमा पार्टी सभापति देउवासँग सहमति गरिएकाले सोही अनुसार अघि बढ्ने निर्णय पनि गरिएको नेता सिंहले बताए । – baahrakhari