मुगुमा खाद्यान्न अभाव

 

मुगु – जिल्लाको सदरमुकाम गमगढी बजारदेखि संस्थानसम्म खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा गत आर्थिक वर्षको स्वीकृत कोठा अनुसार गमगढी बजारको लागि १० हजार, पुलुको लागि १२ सय क्वीन्टल , सोरुकोटका लागि २२ सय क्वीन्टल, खत्याड रातापानीको लागि १२ सय क्वीन्टल, पुन रातापानीको लागि ८ सय क्वीन्टल, त्यस्तै कालै डिपो केन्द्रमा ४२ सय ९९ क्वीन्टल मध्ये १ सय ७१ क्वीन्टल मात्र ढुवानी भएको जनाइएको छ । आवश्यकता अनुसार खाद्यन्न ढुवानी हुन नसकेकोले खाद्यन्न अभाव भएको हो । ढुवानी भएको खाद्यन्न विक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ ।

कार्यालयका जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अन्तर्गतका सबै डिपो हिजो आज खालि छन भने शाखा कार्यालय गमगढीमा रहेको गोदाममा ५ सय ५० क्वीन्टल मात्र स्टक रहेको जनाइएको छ । त्यो स्टक पनि दैविक प्रकोप पिडितलगायत अत्यावश्यक कार्यका लागि राखिएको संस्थानले जनाएको छ ।

खाद्यन्न नपुग हुने भएकोले अत्यावश्यक कार्यका लागि स्टक राख्नु पर्ने भएकोले खाद्यान्न विक्रि वितरणमा रोक लगाईको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका कार्यालय प्रमुख कर्ण बहादुर रावलले बताए ।

उनका अनुसार सोना मंसुलि, मध्ये जापानिज, अरुवा मोटो, जिरा मंसुलि लगायतका आधा दर्जनका खाद्यान्न विक्रि वितरण हुँदै आईरहेको छ । आर्थिक वर्ष ०७७/०७८ को खाद्यान्न ढुवानीका लागि ठेक्का प्रक्रिया भईरहेकाले ढुवानी सुरु भएको छैन । गतवर्षको चामल सकिसकेको र नयाँ चामल नआएको हुँदा खाद्यान्न अभाव भएको रावलले जानकारी दिए ।

खाद्य संस्थानमा चामल लिन आउँदा चामल छैन भन्दा खालि हात फर्कुनु परेको र बजारमा पनि खोज्दा खाद्यान्न नभेटिएकाले रित्तो हात फर्कुनु परेको छायानाथ रारा नगरपालिका वडा नं ४ का स्थानीय खड्क सिंह भामले बताए ।

डेढ महिनासम्म सडक अवरुद्ध हुँदा गमगढी बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव देखिएको छ भने बन्द सडक सुचारु गर्नको लागि स्थानीय सरकार, प्रदेश सरकार, र सघीय सरकार लगायत सम्पूर्ण सरोकारवाला निकायको ध्यान नगएको व्यापारी राष्ट् राज कार्कीले बताएका छन् ।