काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। गएराति ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने प्रहरीले जनाएको छ।
डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ। उनले भने, ‘थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ।’ अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो। सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन्।
हेलम्बु राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोक– लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ। आज बिहान ६ः०० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरेका छन्। अहिले मेलम्चीबाट काठमाडौँ र काठमाडौंबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन्। यसअघि पनि यस ठाउँमा निरन्तर पहिरो खरिरहेको छ।
भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत भिमफेदी–कुलेखानी सडकखण्ड पहिरोले अवरुद्ध बनेको छ । हिजो देखिको अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका–६ देउराली नजिक पहिरो खस्दा भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको हो । पानी परिरहेकोले पहिरो पन्छाउन समस्या भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। थाहाखबर