विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित नेपाल–भारत सीमा नाका खुला गरेसँगै पछिल्लो समय भारतीय बजार जोगबनीमा किनमेलमा जाने नेपालीहरु बढ्न थालेका छन्।
खुला सीमा र नेपाली बजारभन्दा जोगबनीमा सुलभ र सस्तो मूल्यमा सामान पाउने भएकाले नेपालीहरु त्यहाँ जानेका गरेका छन्। चाडपर्व होस् या अन्य समय झापा, मोरङ, सुनसरीलगायत प्रदेश १ का विभिन्न स्थानबाट दैनिक उपभोग्य सामग्री खरिदका लागि जोगबनी पुग्ने गर्दछन्।
सुनसरीकी शारदा मैनाली करिब एक वर्षपछि किनमेलका लागि जोगबनी आएको बताउँछिन्। दाल, चिनी, साबुनलगायतका दैनिक उपभोग हुने सामान नेपाली बजारभन्दा जोगबनीमा सस्तो पर्ने भएकाले महिनाभरका लागि समान खरिद गर्न जोगबनी गएको उनले बताइन्।
‘लामो समयपछि जोगबनी खुल्यो भन्ने सुनेर घरमा चाहिने आवश्यक सामान किन्न आएकी,’ विराटनगरको महेन्द्र चोकमा भेटिएकी शारदाले भनिन्‚ ‘हामी गृहिणीलाई त एक पैसा भए पनि बचत होस् भन्ने हुन्छ। नेपालमा भन्दा जोगबनीमा सस्तो पाइन्छ। एक पटक आँउदा महिना दिन पुग्ने लिएर जान्छु।’
भारतीय सामान नेपालसम्म आयात हुँदा भन्सार कर तिर्नुपर्ने भएकाले पनि भारतमा भन्दा स्थानीय बजारमा खाद्यन्न सामानदेखि अन्य सामानको मूल्य केही महँगो हुने विराटनगरका व्यापारी अनिल सिंह बताउँछन्। लकडाउनको समयमा भारतीय सीमानाका रहँदा स्थानीयदेखि अन्य जिल्लाको ग्राहकलाई नेपाली बजारले नै थेगेको उनको भनाइ छ।
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा चार करोड ८ लाख १९ हजार १३ रुपैयाँ कर संकलन गरेको छ। यस कार्यालयलाई चार करोड ८३ लाख ४६ हजार ५३९ रुपैयाँको लक्ष्य दिइएको थियो।