अमेरिकी सहयोगीलाई तालिबानले लेखेको मृत्युदण्डको फैसला – तपाईंको मृत्यु तय छ !

काठमाडौं – अमेरिकी सेनालाई दोभाषेका रूपमा सहयोग गर्ने एक अफगान नागरिकका भाइलाई तलिबानले मृत्युदण्डको फैसला सुनाएको छ । तालिबानले सुनाएको फैसलाको गोप्य पत्र अमेरिकी सञ्चारमाध्यम सीएनएन बाहिर ल्याएको हो । सीएनएनका अनुसार अमेरिकालाई सहयोग गरेको र दोभाषेको काम गर्ने दाजुलाई संरक्षण दिएको आरोप यी व्यक्तिमाथि लगाइएको छ ।

यी व्यक्तिलाई तालिबानले तीनवटा पत्र पठाएको थियो । पहिलो पत्रमा भनिएको थियो, ‘तपाईंमाथि अमेरिकीहरूलाई सहयोग गरेको आरो छ । तपाईंमाथि आफ्ना दोभाषे दाजुलाई सहयोग गरेको आरोप छ ।’

यस पत्रमा उनलाई सुनुवाइका निम्ति उपस्थित हुन भनिएको छ । दोस्रो पत्रमा सुनुवाइमा उपस्थित नहुनुको कारण सोधिएको छ । त्यसैगरी, तेस्रो पत्रमा लेखिएको छ, ‘विस्तारवादी लडाकुहरूलाई दिने गरेको सेवा बन्द गर्न दिइएको चेतावनीलाई अस्वीकार गरेको र सुनुवाइका लागि उपस्थित हुन जारी गरिएको निर्देशन समेत नमानेकाले मृत्युदण्ड दिइनेछ ।’

तालिबानले पछिल्ला तीन महिनाभित्र यो पत्र पठाएको अमेरिकी सेनामा ती दोभाषेसँगै काम गर्ने एक व्यक्तिले जनाएका छन् । अफगानिस्तान बस्ने ती व्यक्ति र उनको परिवारले थप धम्की सामना गर्न सक्ने भएकाले उनीहरूको नाम समाचारमा खुलाइएको छैन ।

पास्तो भाषामा लेखिएका यी पत्रहरू सीएनएनले अङ्ग्रेजीमा अनुवाद गरेको छ । ‘अदालतको निर्णय अन्तिम हुन्छ र तपाईंसँग आपत्ति जनाउने अधिकार हुनेछैन,’ तेस्रो पटकमा लेखिएको छ, ‘यो बाटो तपाईं आफैँले रोज्नु भएको हो र तपाईंको मृत्यु तय छ, भगवान्को इच्छा ।’

काबुलमा तालिबानले कब्जा जमाएसँगै अहिले त्रासका कारण भाग्न खोज्नेहरूको सङ्ख्या निकै ठूलो देखिएको छ । विशेष गरी, विगतमा अमेरिकी सेनालाई सहयोग गर्ने र उनीहरूका परिवारले खतरा महसुस गरेका छन् । विगतका तालिबानको प्रतिकारमा उत्रिएका व्यक्ती तथा महिलाहरू पनि जोखिममा छन् । त्यही कारण अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको अफगानिस्तानको एकमात्रै स्थल काबुल विमानस्थलमा ठूलो सङ्ख्यामा मानिसहरूको भीड लागेको छ । उनीहरू हर–हालतमा अफगानिस्तान छाड्ने हतारोमा छन् । अमेरिकाले पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिक, आफ्ना सहयोगी र जोखिममा रहेकाहरूको उद्धार नगरेसम्म सेनालाई काबुल विमानस्थलमा राखिराख्ने तयारी गरिरहेको छ । यसअघि राष्ट्रपति जो बाइडेनले हरेक नागरिकको उद्धार नभएसम्म अमेरिकी सेनाले काबुल नछाड्ने घोषणा गरेका थिए । यता, निर्धारित मिति अर्थात् ३१ अगस्तसम्म अमेरिकी सेनाले काबुल नछाडे अवस्था बिग्रन सक्ने चेतावनी तालिबानले दिएको छ । त्यस्तो अवस्थाको जिम्मेवार पनि अमेरिकी सेना नै हुने उसले जनाएको छ ।

केही दिनअघिमात्रै तालिबानी प्रवक्ता जुविउल्लाह मुजाहिदले पत्रकार सम्मेलन गर्दै कसैसँग पनि बदला नलिने बताएका थिए । उनले कसैलाई क्षति नगर्ने बताएका थिए । ‘पक्कै पनि हामीबीच २० वर्षअघि र अहिले धेरै फरक छ,’ उनले भनेका छन् । तर, उनको घोषणाका बाबजुद जनतामा त्रास घटेको छैन ।