काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनलाई भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई गएका हुन् । उनको स्वास्थ्यावस्थाबारे जानकारी लिन काँग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जानुभएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरीबीच उपचारबारे सल्लाह भएको बताइएको छ । “भोलि शुक्रबार निधिले गिरीलाई भेटेपछि उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भने ।