कुपोषणबाट जोगाउन बच्चालाई अण्डाका परिकार

 

 

सुर्खेत – सुर्खेतको लेखबेसी नगरपालिका ५ नेटाकी सपना सुनार आफू र आफ्नो बच्चाको स्वास्थ्य प्रति निकै सचेत छिन् । उनले आफ्नो बच्चालाई ६ महिना स्तनपान मात्र गराइन् । त्यसपछि बच्चा छ महिना पूरा हुने वित्तिकै आमाको दुधका साथसाथै थप पोषिलो खाना खुवाउन सुरु गरिन् । खानामा अण्डा समेत मिसाएर खुवाउन थालिन् ।

‘बच्चाले दिनहुँ अण्डाको एकै खालको परिकार खान मान्दैन,’ उनले भनिन् ‘त्यसकारण अण्डाको विभिन्न परिकार बनाएर खुवाउने गरेकी छु ।’ उनले बच्चाको नियमित खाना जस्तै लिटो वा जाउलो बनाउँदा उसिनेको अण्डा मिचेर मिसाएर पकाउने गर्छिन् । त्यस्तै कहिले चामल, गहुँ, फापर, कोदो वा मकैको पीठोमा काँचो अण्डा घोलेर रोटी पकाएर पनि बच्चालाई खुवाउने गरेकी छन् । उनका अनुसार अण्डा मिसाइ पकाएको खिचडीमा साग, गाजर र अन्य तरकारीका साथै उसिनेको अण्डालाई मसिनो गरि मिचेर पनि खुवाउने गर्छिन् ।

केहि बर्ष अघिसम्म बच्चालाई अण्डा खुवाउँदा जण्डिस हुने तथा बच्चाको बोलि नफुट्ने गलत धारणा समाजमा व्याप्त थियो । विस्तारै बच्चालाई अण्डा खुवाउनु पर्छ भन्ने चेतना फैलिदै जाँदा अण्डाको विभिन्न परिकार बनाएर खुवाउने क्रम समुदायमा सुरु भएको छ । पछिल्लो समय अण्डाका विविध परिकार बनाएर बच्चालाई खुवाउनेको सख्या बढ्दै गएको छ ।

सुर्खेतको बराहताल ५ की देउरुपा खड्काले बच्चालाई कुनै दिन लिटो त कुनै दिन जाउलोसँगै अण्डा मिसाएर खुवाउने गरेकी छिन् । ‘कहिले काहीँ गेडागुडी तथा दालमा उसिनेको अण्डा मसिनो गरि मिसाउने गरेकी छु’, उनले भनिन् । बच्चाले मिठो मानेर खावस् भनी उसिनेको अण्डालाई दुध वा पाकेको केरामा मसिनो गरि मिचेर खुवाउने गरेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ की हस्ता खड्काले बताइन् । उसिनेको तथा भुटेको अण्डा पनि अन्य परिकारमा मिसाएर खुवाउन सकिने उनको अनुभव छ । बच्चालाई दिनहुँ अण्डाको फरक – फरक परिकार बनाएर खुवाउँदा बच्चाले मिठो मानेर खाने प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नर्सिङ अफिसर ज्ञानु गौतमको भनाई छ ।

यसका साथै अण्डाले बच्चाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने र कुपोषणबाट बचाउने उनले बताइन् । बच्चा छ महिना पूरा भएपछि थोरै थोरै गरेर अण्डा खुवाएमा उसको पाचन शक्तिमा पनि बृद्धि हुने उनको भनाई छ । ‘हाम्रो समाजमा बच्चाले अण्डा पचाउन सक्दैन भन्ने धारणा छ त्यो गलत हो’ उनले भनिन्, थोरै थोरै गरेर खुवाउने हो भने अण्डा पनि बच्चाले सजिलै पचाउन छ । उनका अनुसार अण्डामा धेरै मात्रामा पोषक तत्व पाईन्छ ।