बाहिरबाट गाइभैसी खरिद गर्ने किसानलाई गुराँस गाउँपालिकाले  ढुवानी अनुदान  दिने 

सुर्खेत –  दैलेखकाे गुराँस गाउँपालिकाले गाउँपालिका बाहिरबाट गाइ भैंसी खरिद गरी ल्याउने किसानलाई ढुवानी अनुदान दिने भएको छ । गाउँपालिकाका किसानलाई व्यावसायीक र आत्म निर्भर बनाउने उद्देश्यले गाउँपालिकाले ढुवानी र भकारो सुधारका लागि अनुदान दिने भएको हो ।

गुराँस गाउँपालिका वडा नं.६ पिलाडीमा रहेको शुनगाभा साना किसान कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको सुनगाभा दुग्ध चिस्यान केन्द्रको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गाउँपालिका बाहिरबाट खरिद गरी ल्याएका गाइ भैसीं ढुवानी र भकारा सुधारमा स्थानीय किसानलाई पाँच हजार अनुदान दिने जनाएका हुन्  । उनले कृषी पशुपालनमा आत्मनिर्भर हुने समय आएको भन्दै गाउँपालिका बाहिरबाट उन्नत जातका गाइ भैसी खरिदमा अनुदान दिने बताए ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय र गुराँस गाउँपालिका दैलेखको सयुक्त लगानीमा करिव ३१ लाखको लागतमा चिस्यान केन्द्र तयार भएको छ। चिस्यान केन्द्र निर्माण भएसँगै यस क्षेत्रबाट उत्पादि दुधलाई बजारीकरण गर्नमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।