ओली पक्षले बढायो एमाले केन्द्रीय सदस्यको संख्या

काठमाडौं – राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने सरकारको निर्णय लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको छ ।

मंगलबार पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै एमाले केपी ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर आयोगलाई विवरण दिएको हो ।

अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्य रहेको एमालेमा मंगलबार थप नाम थपेर २६० सदस्य रहेको विवरण आयोगमा पठाएको हो । एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६० सदस्यीय केन्द्रीय कमिटी बनाएको बुझिएको छ ।