अफगान राष्ट्रपति भवनमा वार्ता जारी, यस्तो छ तालिबानहरुको तयारी

अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरुले कब्जामा लिएका छन्। उनीहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरुले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ गनीले देश छाडेका छन्।

उनी देश छोडेर कहाँ गएका भन्ने विषयमा केही बताइएको छैन । यद्यपि, उनी छिमेकी मुलुक ताजजिकस्तान पुगेको सञ्चारमाध्यामहरुले जनाएका छन् । यस विषयमा अफगानिस्तानको सरकारले पनि केही भनेको छैन । तर अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोष्ट गरेका छन् ।

अफगानिस्तानका राजधानीतर्फ तालिवानी विद्रोहीहरुले प्रवेश गरेपछि अफगानिस्तानका गृहमन्त्रीले अफगान सरकार शान्तिपूर्णरुपमा तालिबानीहरुलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । तर त्यसअगावै राष्ट्रपति घानीले देश छोड्नुभएको बताइएको छ । आइतबार राति नै तालिबानीहरु काबुलस्थित राष्ट्रपति निवासमा प्रवेश गरेका छन् । उनीहरुले आइतबार राति राष्ट्रपति कार्यालय र निवास कब्जामा लिएको जानकारी गराएका छन् ।

आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिहरूबीच शुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ । सो वार्तामा तालिबानीहरुलाई वैधानिकरुपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भएपनि यस विषयमा सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

उता तालिबानीहरुले भने अब छिट्टै तालिबानीहरुले अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन्। उनीहरुले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन् । तालिबानहरुले आफ्ना लडाकूहरुलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि आइतबार साँझ नै उनीहरु काबुल आएका हुन् ।

यहाँ हिंसा हुने खतराले गर्दा राति ९ बजेदेखि बिहानसम्म कर्फ्यू आदेश जारी गरिएको बताइएको छ। आइतबारदेखि सोमबार बिहानसम्म पनि अफगानिस्तानबाट विभिन्न देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् ।
त्यसैगरी अफगानिस्तानका कैयौँ विदेश नागरिक आफैं पनि आफ्ना देश फर्किरहेका छन् । उता तालिबानहरुले भने कसैसँग बदला नलिने भन्दै आफूहरुसँग नडराउन भनिरहेका छन् ।