स्याललाई हानेको गोलीले आफ्नै छोराको मृत्यु भएपछि बुवा पक्राउ

काठमाडौं – स्याललाई हानेको गोलीले छोराको मृत्यु भएपछि पाल्पामा प्रहरीले बुवालाई पक्राउ गरेको छ।

प्रहरीले पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ स्थित जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीलाई पक्राउ गरेको हो।

उनले शुक्रबार साँझ ६ बजे मकैबारीमा आएको स्याल मार्न भरुवा बन्दुकबाट गोली चलाएका थिए। तर, गोली आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीलाई लागेको थियो।

गोली लाग्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

घरबाट करिब सय मिटर टाढा रहेका धनबहादुरलाई भरुवा बन्दुकबाट निस्केको गोली लागेको थियो।गोली हान्ने कर्णबहादुरलाई प्रहरीले बन्दुकसहित पक्राउ गरी हिरासतमा लिएको त्वातीले बताए।