आज रातिबाट ला लिगाका खेलहरू सुरु

ला लिगाको नयाँ सिजन आजदेखि सुरु भएको छ। लिगाको ९१ औं सिजनको पहिलो खेल भ्यालेन्सिया र गेटाफेबीच आज राति पौने १ बजे हुनेछ। सन् २०२२ को मे २२ सम्म लिग चल्ने छ।

स्पेन सरकारले निर्धारण गरेको मापदण्डअनुसार दर्शकसमेत रहने व्यवस्थासहित लिग चल्ने बताइएको छ। २० वटा क्लबले प्रतिस्पर्धा गर्ने ला लिगामा स्पानियोल, मार्लोका, रायो भालेकानो उक्लिएका छन् भने पछिल्लो सिजनका आइबर, भल्लाडोलिड र हुएस्का दोस्रो डिभिजनमा झरेका छन्।

गत सिजनको लिगका अधिकांश खेल बिनादर्शक खेलाइएको थियो। तर यो पटक स्वास्थ्य मापदण्डमा रहेर दर्शकहरू पनि हुनेछन्। गत सिजन एट्लेटिको मड्रिडले लिग उचालेको थियो। दोस्रो स्थानमा रियल मड्रिड रहँदा बार्सिलोना तेस्रो तथा सेभिल्ला चौथो भएका थिए।

यो सिजन एट्लेटिकोले आफ्नो पहिलो पहिलो खेल आइतबार सवा ९ बजे सेल्टाभिगोविरुद्ध खेल्दै छ। त्यस्तै भोलि राति पौने २ बजे रियल मड्रिडले अल्भेसको सामाना गर्नेछ। बार्सिलोनाले भने रियल सोसिडाडसँग आइतबार राति पौने १२ बजे खेल्दै छ।