काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ।
कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको पार्टीको १४ औँ महाधिवेशन तोकिएको समयमा गर्न नसक्ने भएपछि हिजोदेखि केन्द्रीय कार्य समितिको बैठक बोलाएर छलफल गरिरहेको छ।
हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले तोकिएको समयमा महाधिवेशन नगरे पार्टीको वैद्यता समाप्त हुने भएकाले मिति नसार्न सुझाव दिएका थिए। साथै केही नेताहरुले सार्नै परे पनि असोजभित्र महाधिवेशन जसरी पनि सम्पन्न गर्न नेतृत्वलाई दबाब दिएका छन्।
आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका विभिन्न प्रस्तावमाथि बाँकी सदस्यहरुले बोल्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसमा क्रियाशील सदस्यताका विवाद निरुपण नहुँदा साउन दोस्रो सातादेखि नै गर्ने भनिएको पालिकास्तरको अधिवेशन स्थगित भइसकेको छ भने त्यस पछाडिका सवै तहको अधिवेशन प्रभावित हुँदै आएको छ।
#thahakhabar