काठमाडौ- जतिबेला सवारीसाधनको करहरू केन्द्रीय सरकार अन्तरगत थियो, त्यति बेला देशैभर एकै प्रकारको करको दर कायम थियो । तर जब सवारीसाधनको करसम्बन्धी व्यवस्था र अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरियो, तब प्रदेशहरूमा करको दर मनलाग्दी तवरले बढाउन थालेको छ ।
सबैभन्दा बढी सवारीसाधन दर्ता भएको बागमती प्रदेशमा वर्षैपिच्छे सवारीसाधनको कर बढ्ने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा पनि बागमती प्रदेश सरकारले करिब १० प्रतिशतले सवारीसाधनको कर बढाएको छ ।
बागमती प्रदेश सरकारले यस पटकको सवारीसाधनको कर मात्रै बढाएको छैन, पैसा उठाउन मिल्ने सबै क्षेत्र हेरेर कर बढाएको छ । यस पटक सवारीसाधनको नामसारी गर्दा लाग्ने शुल्क बढाएको छ भने ब्लु बुकको नवीकरण शुल्क पनि बढाएको छ । त्यसै गरी गत वर्षसम्म सनाखत गरेको पैसा नलाग्ने गरेकामा यस वर्षदेखि सनाखत गरेको पैसा पनि लिन थालेको छ ।