तालिवानले कब्जा गर्‍यो अफगानिस्तानको प्रान्तीय राजधानी शेबरघान


काठमाडौं – तालिवान विद्रोही समूहले अफगानिस्तानमा दुई दिनभित्र दोस्रो सहर कब्जा गरेको छ।

तालिवान समूहले उत्तरी जज्वान प्रान्तको राजधानी शेबरघान कब्जा गरेको हो। तर अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सहरमा सरकारी सुरक्षा ठूलो संख्यामा उपस्थित रहेको र तालिवानीलाई लखेटिने बताएका छन्।

शेबरघान पूर्व अफगान उपराष्ट्रपति अब्दुल राशिद दोस्तमको गढ हो जहाँ तालिवानीविरुद्ध यसअघि ठूला कारबाही सञ्चालन गरिएको थियो। यसअघि तालिवानी विद्रोही समूहले शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जरन्ज कब्जा गरेको थियो।

तालिवानी समूहले कब्जा गरेका यी दुवै सहरमा केही दिनयता भीषण युद्ध भएको थियो। त्यस्तै उत्तरको कुन्दुज र दक्षिण अफगानिस्तानको लस्कर गाह सहरमा पनि भिडन्त भइरहेको अधिकारीहरुले जनाएका छन्।

नेटो तथा अमेरिकी सैनिक फिर्ता हुन थालेसँगै अफगानिस्तानमा तालिवान विद्रोही समूहले आक्रमण तीव्र पारेको छ। पछिल्ला हप्ता तालिवानले थुप्रै ग्रामिण क्षेत्रमा नियन्त्रण जमाएको छ भने सहरी क्षेत्रहरुमा पनि आक्रमण बढाएको छ।